प्यूठान
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटर ब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले प्युठानमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकार सामन्तवादका बाँकी अवशेष अन्त्य गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने काममा लागिरहेको बताउनुभयो ।
‘‘हामीले हिजो सामन्तवादको समूल अन्त्यका लागि दश वर्षे जनयुद्ध गरेका थियौँ’– उहाँले भन्नुभयो– ‘जनयुद्धका कारण नेपालमा सारभूत रुपमा सामन्तवादको अन्त्य भयो तर अहिले पनि कतिपय क्षेत्रमा सामन्तवादका अवशेष बाँकी रहेका छन्, तीमध्ये मिटर ब्याज पनि एउटा थियो, जो हामीले अहिले परास्त गरेका छौँ । जनयुद्धको बेलामा समेत परास्त हुन नसकेको मिटर ब्याजीको जालो तोड्नु वर्तमान सरकारको ठूलो सफलता हो ।’
मन्त्री शर्माले सुशासनको पक्षमा सरकार दृढताका साथ प्रस्तुत भइरहेको उल्लेख गर्दै भ्रष्टाचारको विरुद्ध निर्मम बनेको बताउनुभयो । सरकारको नेतृत्व गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाएर अघि बढेको उल्लेख गर्दै उहाँले सेवा प्रवाहलाई सहज बनाउँदै लगेको बताउनुभयो ।

