जलवायु संरक्षणबाट प्राप्त ५० करोड रकम मुस्ताङ पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले जलवायु संरक्षणको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत प्राप्त गर्ने ५० करोड रकम मुस्ताङलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।

आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने । यो नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाण रहेको उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हिमाल संरक्षण गर्नु नेपालको मात्रै दायित्व नभएर अन्य देशहरुले पनि यसमा ध्यान दिनुपर्ने बताए । उनले मुस्ताङ क्षेत्र आफैमा विशिष्ट खालको पहिचान र विविधताले भरिएको जिल्ला रहेको बताउँदै उचित संरक्षण र प्रचारप्रसारको खाँचौं रहेको बताए ।

प्रधानमन्त्री दाहालले गत महिना इटलीमा भएको रोम सम्मेलन र अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभामा पनि जलवायु संरक्षणको बारेमा आफूले प्रष्टसँग कुरा राखेको बताए । ‘यदि हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान नदिने हो र ग्लोबल फण्ड त्यस क्षेत्रमा केन्द्रित नगर्ने हो भने ठूलो मानवीय र प्राकृतिक आपदाको स्थिति विश्वले नै सामना गर्नुपर्छ भन्ने कुरा गम्भीरतारुपले राखिएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *