मंगलवार नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेको छ । १ हजार ८५१ दशमलव १८ विन्दुदेखि खुला भएको मंगलवारको बजार १ हजार ८८४ दशमलव ६७ विन्दुसम्म पुगेको थियो । अन्तिममा १ हजार ८६४ दशमलव ६२ विन्दुमा बजार बन्द भएको हो ।
अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार मंगलवार भने बढेको हो । दशैंका कारण आर्थिक गतिविधि बढ्दा धितोपत्र बजारमा समेत लगानीकर्ता सक्रिय भएको जानकारी ब्रोकरहरूले दिएका छन् । दशैं नजिकिँदै गर्दा लगानीकर्ताहरूले दशैं खर्च जोहो गदै धितोपत्र बजारमा लगानी गरेको ब्रोकरहरूले जानकारी दिएको छ ।
अघिल्ला कारोबार दिनको तुलनामा समग्र धितोपत्र बजार मापक नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन सोमवार १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैयाँ बराबरको ४८ लाख ३७ हजार ८९३ कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार १ अर्ब ८४ लाख ३७ हजार रुपैयाँ बराबरको ३८ लाख १३ हजार २३३ कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबार रकममा सर्वाधिक हिस्सा हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले ओगटेको छ । हाथवे इन्भेष्टमेण्टको मंगलवार ४ करोड ६२ लाख ६९ हजार रुपैयाँभन्दा बढीको १ लाख ५९ हजार ५४७ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयर मूल्य पनि सर्वाधिक ८ दशमलव ५३ प्रतिशत घटेको छ । यो दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता २६ रुपैयाँ ५० पैसाले घटेर प्रतिकित्ता २८४ रुपैयाँ कायम भएको छ ।
मंगलवार बढेको बजारमा एनआइबिएल प्रगति फण्डको इकाई मूल्य सर्वाधिक ७ दशमलव ३५ प्रतिशत बढेको छ । फण्डको इकाई मूल्य प्रतिइकाई ६३ पैसाले बढेर अन्तिम मूल्य ९ रुपैयाँ २० पैसा कायम भएको छ ।
मंगलवार होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव २७ प्रतिशत, निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशत र व्यापारिक समूहको १ दशमलव २५ प्रतिशत परिसूचक घटेको छ । यो दिन वित्त समूहको १ दशमलव ३० प्रतिशत, बैंकिङ समूहको १ दशमलव १० प्रतिशत, विकास बैंकको शून्य दशमलव २६ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७९ प्रतिशत, लगानीको शून्य दशमलव ४५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९० प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत, लघुवित्तको शून्य दशमव ८१ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव शून्य ६ प्रतिशत र अन्यको शून्य दशमलव ८१ प्रतिशत परिसूचक बढेको छ ।
मंगलवार लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब २३ लाख १२ हजार रुपैयाँले बढेको छ । सोमवार २८ खर्ब ६१ अर्ब ५२ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण मंगलवार २८ खर्ब ६१ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ कायम भएको हो ।

