दाङ । जंगली जनावरको आतंकका कारण दाङका किसान चिन्तित भएका छन् ।
जिल्लाका पहाडी जंगल आसपासमा बसोबास गर्ने नागरिकहरुले जंगली जनवारको आतंक भोग्दै आएका छन् । बारीमा लगाएको मकैबालीमा बाँदर र जंगली बँदेललेका कारण किसानहरुले निकै सास्ती खेप्नु परेको छ ।
तुलसीपुर ७ का नागरिकहरु आफूले लगाएको अन्नबाली बाँदर र बँदेलले सखाप बनाएपछि चिन्तित बनेका हुन् । जंगलबाट आउने बँदेलले बारीमा लगाएको मकै सिध्याउन थालेपछि उनीहरुले स्थानीय सरकार र सरोकारवालाहरुलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।
गाउँ नजिकै जङ्गलमा रहेका बँदेलहरूले रातको समयमा आएर मकै खान थालेपछि उनीहरु समस्यामा परेका हुन् । करिब १५ बिगाहामा लगाएको मकै जंगली बँदेलले खाएर सिध्याउन थालेपछि अनिकाल लाग्ने डर उनीहरुमा देखिएको छ ।

